Daily Feature News : Feb 2008
Daily Feature News »
मुम्बईमा नेपाली गरिमा पुरस्कार
- B. Poudel
मुम्बईबाट प्रकाशित हुने इण्डो-नेपाल समाज मासिक पत्रिकाले फरवरी २४ आइतबार विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरुलाई नेपाली गरिमा पुरस्कार प्रदान गर्यो ।
पुरस्कृत हुनेहरुमा भारतीय फुटबल टिमका क्याप्टेन भाइचुङ भुटिया, वरिष्ठ चित्रकार लक्ष्मण श्रेष्ठ, बलिउडकै चर्चित स्टिल फोटोग्राफर राकेश श्रेष्ठ र जनआन्दोलन-२ का अगुवा तथा देउडा गायक नन्दकृष्ण जोशी हुनुहुन्थ्यो ।
सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा विशेष आकर्षण फुटबल खेलाडी भाईचुङ भुटियाले निक्कै मिठो र सरल तरिकाले नेपालीमै भारतमा बस्ने नेपालीभाषीहरुले भारतमा पुर्याएको योगदान कम नभएको उल्लेख गर्दै देशको नामलाई चम्काउन जहाँ र जस्तो ठाउँमा भएता पनि उल्लेखनीय कार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ चित्रकार लक्ष्मण श्रेष्ठले कलाकारहरु समाजभन्दा बाहिर एकान्तमा बसेर पनि आफ्नो कलामा समाजकै चित्रण गरिहरेका हुन्छन् भन्नुभयो ।
त्यसैगरी छायाँकार राकेश श्रेष्ठले आफू नेपालीहरुको बीचमा आएर सम्मानित हुन पाउँदा गौरवान्वित भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी अन्य अतिथिहरु भारतीय चित्रकार बलराम आशिष नागपाल, हिन्दी दैनिक पत्रिका सामनाका सम्पादक प्रेम शुक्ला, म्युनिसिपल कमिसनर आर.डी. शिन्दे लगायतका अतिथिहरुलाई आयोजक पत्रिकाका सम्पादक नवराज जोशीले नेपाली ढाकाको टोपी पहिराएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै देउडा गायक नन्दकृष्ण जोशीले आगामी चैत्र २८ मा हुन लागेको संविधानसभाको चुनावमा सहभागी हुन सम्पूर्ण प्रवासी नेपालीहरुलाई आग्रह गर्दै मुर्म्बईमा नेपाली बाणिज्य दूतावास बनाउनको लागि नेपालका प्रमुख दलका नेतासँग आफूले चर्चा गर्ने बताउनुभयो ।
कार्यक्रममा हिन्दी दैनिक पत्रिका सामनाका सम्पादक प्रेम शुक्ला र म्युनिसिपल कमिशनर आर.डी. शिन्देले पनि बोल्नु भएको थियो ।
नेपालबाट संगीत टोलीको नेतृत्व गर्दै आएका संगीतकार सुदाम थापाले आफ्नो गायन र प्रहशन प्रस्तुत गरेका थिए भने कार्यक्रमा नेपालबाट आएका होचा पुड्का कलाकारद्वय लोकनाथ ढकाल र सुन्दरी मिश्रले विभिन्न गीतहरुमा गरेको नृत्यले दर्शकहरुलाई विशेष मनोरञ्जन प्रदान गरेको थियो ।
सम्मान पछिको सांस्कृतिक कार्यक्रममा देउडा गायक नन्दकृष्ण जोशीले झ्याम्म झ्याम्म बोलको गीतमार्फत् संविधानसभाको चुनावलाई सफल पार्न सबैलाई आग्रह गर्नुभएको थियो ।




Daily Feature News »
|